निजामती सेवामा वृत्ति विकास

 वृत्ति विकासको परिचय दिँदै निजामती सेवामा रहेको वृत्ति विकासका अवसर, समस्या र समाधानका उपायहरू बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् । (१+२+४+३=१०)
(नयाँ पत्रिकामा २०७६ श्रावण १५ बुधबार,  सहसचिव,नारायणप्रसाद दुवाडीको लेख)
वृत्ति विकास
व्यक्तिले अपनाएको पेसाको ज्ञान, सीप, विशेषता, सेवा सुविधा तथा जिम्मेवारीमा हुने उन्नति नै वृत्ति विकास हो । अर्थपूर्ण जीवनयापनका लागि कुनै व्यवसायभित्र रहेको वातावरण वा अवसर वृत्ति विकास हो । आफैँले बनाएको पेसाको उन्नयन नै वृत्ति विकास हो । पेसा व्यवसायलाई बढी मूल्यवान्, प्रतिष्ठित, ऊर्जावान् बनाउने अवस्था वृत्ति विकास हो । वृत्ति विकास संगठन र कर्मचारी दुवैको पक्षबाट महत्वपूर्ण हुन्छ ।
वृत्ति विकासको माध्यमबाट कर्मचारीको व्यक्तिगत अपेक्षा, उद्देश्य र संगठनात्मक लक्ष्यबीच उचित तालमेल हुन गई कर्मचारी र संगठन दुवैको उद्देश्य पूर्ति हुन सहज हुन्छ । संगठनको उत्पादकत्वमा वृद्धि ल्याउन, कर्मचारी पलायनलाई निरुत्साहित गर्न, कर्मचारीलाई आफ्नो काम कर्तव्यमा पोख्त गराउन र सामूहिक योगदानबाट संगठनको ख्याति बढाउन वृत्ति विकास जरुरी हुन्छ । साथै कर्मचारीमा निहित प्रतिभा, खुबीको प्रस्फुटन गराई त्यसको उपयोग र विकास गर्ने अवसर दिलाउन वृत्ति विकास आवश्यक पर्छ ।

वृत्ति विकासमा रहेका समस्या
नेपालको निजामती सेवा ऐन नियमावली तथा अन्य प्रचलित नीति र कानुनमा वृत्ति विकासका विभिन्न व्यवस्था गरेको पाइन्छ । खासगरी गुणमा आधारित भर्ना छनोट प्रणाली र पेसाको विविधीकरण एवं विशिष्टीकरणको अधिकतम उपयोगबाट निजामती कर्मचारीले आफ्नो वृत्ति विकास गरी संगठनको उद्देश्य हासिल गर्न योगदान दिन सक्ने अवसर रहेको छ । तर, कानुनी र नीतिगत व्यवस्थाको कार्यान्वयन उपयुक्त तवरले हुन नसक्दा कर्मचारी र संगठन दुवै दृष्टिकोणबाट सफलता हासिल हुन सकेको छैन । कर्मचारी, संगठन र सेवाग्राही कोही पनि सन्तुष्ट हुन सक्ने अवस्था छैन । वृत्ति विकासमा देहायका मुख्य समस्या रहेका छन् ।
१.कर्मचारीको वृत्ति विकास र संगठनको लक्ष्य हासिल एकअर्कामा अन्तरसम्बन्धित विषय हो भन्ने तथ्यलाई महत्व नदिइनु,
२.निजामती सेवाको व्यवसायीकरणभन्दा पनि नोकर वा सेवकका रूपमा हेरिने परम्परागत मान्यता रहनु,
३.दैनिक प्रशासनिक विधि र प्रक्रियाहरूमा समेत बाह्य हस्तक्षेप रहनु,
४.छनोट प्रणाली गुणमा आधारित भनिए पनि पेसाअुनसारको ल्याकत परीक्षण गर्न नसकिनु,
४.अनुमानयोग्य वृत्ति प्रणाली स्थापित हुन नसक्नु,
५.सेवा तथा सर्तका क्षेत्रमा बारम्बार परिवर्तन हुनु,
६.जनशक्ति विकासमा कम चासो रहनु,
७.सेवा समूहपिच्छे फरक–फरक अवसर रहनु,
८.कार्य सम्पादन मूल्यांकनलाई वस्तुनिष्ठ बनाउन नसकिनु,
९.अध्ययन, तालिम, अवलोकन आदिको अवसरमा असमानता हुनु,
१०.चुनौतीपूर्ण जिम्मेवारी वहन गर्ने आधार नहुनु,
११.ऐन–कानुनहरू विनाआधार परिवर्तन भइरहनु,
१२.तलब सुविधा जीवन धान्न पर्याप्त नहुनु,
१३.व्यक्तिगत सामीप्यताको प्रभाव बढी देखिनु,
समाधानका उपायहरू
वृत्ति विकासको मुख्य अभिप्रायः कार्यसम्पादनमा सुधार नै हो । माथि उल्लिखित समस्या समाधान गरी निजामती सेवामा कार्यसम्पादन संस्कृतिको प्रवद्र्धन गर्नु आवश्यक छ । नीतिगत, कानुनी र कार्यविधिगत क्षेत्रमा सुधार गरी कर्मचारी प्रशासनको प्रभावकारिता समग्रतामा  वृद्धि गर्न देहायका उपाय अवलम्बन गर्न सकिन्छ :
  •      दीर्घकालीन लक्ष्य हासिल गर्न सक्ने जनशक्ति विकास नीति र सोहीबमोजिमको वृत्ति विकास योजना तयार गरी लागू गर्ने,
  •      वृत्ति विकासलाई अनुमानयोग्य र वैज्ञानिक तुल्याउने, 
  •      सेवा समूह र पदहरूलाई विशिष्टीकरण गर्ने, 
  •      व्यावसायिक र आधुनिक कर्मचारी प्रशासनको विकासमा जोड दिने, 
  •      भर्ना छनोट प्रणालीलाई अझ प्रतिस्पर्धी तुल्याउने ल्याकतको परीक्षण हुने व्यवस्था गर्ने, 
  •      सदाचारिता र अुनशासनलाई मुख्य आधारका रूपमा लिने,
  •      शैक्षिक योग्यता, तालिम र अनुभवका आधारमा पदस्थापन गर्ने व्यवस्थालाई प्रयोगमा ल्याउने,
  •      जीवनयापन गर्न पुग्ने तलब, सुविधा उपलब्ध गराउने,
  •      बढुवाका लागि दरबन्दी अनुपात मिलाउने,
  •      सरुवाका प्रावधानलाई पालना गर्ने/गराउने,
  •      तालिमको प्रभावकारी व्यवस्था गर्ने,
  •      सबै सेवामा वृत्ति विकासको अवसर समान बनाउनुपर्ने,
निजामती सेवाको समग्र प्रभावकारिता, सेवाग्राहीको सन्तुष्टि र अन्ततोगत्वा सरकारको कार्यसम्पादनमा नै प्रभाव पार्ने वृत्ति विकासको विषयलाई योजनाबद्ध ढंगले कार्यान्वयन गर्नुपर्छ । पूर्वानुमानयोग्य वृत्ति प्रणालीको माध्यमबाट संगठनको साख वृद्धि गर्न सकिन्छ । संगठनमा मेधावी र कर्मठ जनशक्ति भित्र्याई कार्य सम्पादनको संस्कृतिलाई विकास गर्न सकिन्छ । यसो हुन सकेमा मात्र जनआकां‌क्षाअनुरूपको सेवा प्रवाह र विकास डेलिभरी भई सुशासन प्रवद्र्धन गर्न सकिन्छ ।
Previous Post Next Post

ads

ads

نموذج الاتصال