केही समय अगाडी सम्म कोरोनाको रिपोर्टमा पोजेटिभ हो वा नेगेटिभ भन्नेमात्र उल्लेख हुन्थ्यो। अहिले भने रिपोर्ट दिँदा त्यसमा कोरोनाको जीनको सिटिभ्यालु समेत समावेश गर्न थालिएको छ । अहिले सबैको जिज्ञासा नै सिटी भ्यालु के हो भन्नेमा रहेको छ । सिटी अथवा साइकल थ्रेसहोल्ड को भ्यालु(अंक) चिकित्सकको लागि महत्वपुर्ण हुन्छ । यसबाट विरामीमा भाइरसको भार, संक्रमणको गम्भिरता र संक्रमण फैलाउन सक्ने क्षमता अनुमान गर्न सकिन्छ ।
सामान्यतया सिटी भ्यालुको अंक ३७ पछी कोरोना नेगेटिभ भएको मानिने गरिन्छ । सिटी भ्यालु जति कम भयो त्यती नै भाइरसको भार बढी, संक्रमणको लक्षण गम्भिर र बढी संक्रामक हुनसक्ने अनुमान गरिन्छ । तर सिटी भ्यालुको अंक जति बढी भयो त्यति नै भाइरसको भार कम, लक्षण र संक्रामक कम हुने अनुमान गरिन्छ ।
अस्पतालमा भर्ना भएकाहरुको सिटी भ्यालु पनि सुरुमा कम देखिने र उपचार गर्दै जाँदा बढ्दै गएर कोरोना नेगेटिभ आएको देखिन्छ । होम आइसोलेसनमा रहेकाहरुले १४ दिन वा तेस्रो सातापछी पिसिआर परिक्षण गर्दा सिटी भ्यालु पहिले गरेको परिक्षणमा भन्दा बढेर नेगेटिभ आएको पाइन्छ ।
तर कतिपय व्यक्तिमा सुरुमा सिटी भ्यालु बढी देखीने र १० वा १४ दिनपछी पुनः परिक्षण गर्दा सिटी भ्यालु घटेको पनि देखिन्छ । जसले गर्दा भाइरसको संख्या घट्दै जानुपर्नेमा किन बढ्दै गएको भन्ने जिज्ञासा हुनसक्छ । कहिलेकाँही भाइरस संक्रमणको सुरुवाती समयमा पुर्ण रुपमा फैलिनसकेको हुनसक्छ । जसले गर्दा सिटि भ्यालु बढी देखीने गर्छ । तर पछी भाइरस तिव्र गतिमा फैलिँदा सिटी भ्यालु पहिलेको भन्दा कम देखिन सक्छ । तर त्यस्ता भाइरस निष्क्रिय भएको हुनसक्छ । पिसिआरले भाइरस सक्रिय वा निष्क्रिय भएको दुवै अवस्थामा पनि देखाउने गर्छ । जसले गर्दा कुनै व्यक्तिको शरिरमा हप्तौसम्म निष्क्रिय भाइरसको अंशहरु बाँकी रहँदा पनि पिसिआरले पटक पटक पोजेटिभ देखाइ रहनसक्छ ।
अनुसन्धानहरुले सिटी भ्यालु २५ भन्दामाथि भए उक्त संक्रमितबाट भाइरस सर्ने संभावना अत्याधिक कम हुने अर्थात सक्रिय भाइरसको संख्या कम हुने भन्ने देखाएको छ । सयभन्दा बढी अध्ययन अनुसन्धानहरुको आधारमा संक्रमण भएको १० दिन र सिटी भ्यालु ३० भन्दा बढी भए संक्रमितबाट कोरोना सर्दैन भन्ने प्रस्ताव गरिएको थियो । अर्थात त्यस्ता व्यक्ति आइसोलेसनमा बसिरहनु पर्दैन भन्ने हो । सिटी भ्यालुको सम्बन्ध संक्रमणको गम्भिरतासंग सधै सबैमा लागु नहुनपनि सक्छ । कतिपयमा सिटी भ्यालु कम भएका संक्रमितहरु लक्षणविहिन वा सामान्य लक्षण रहेको पनि देखीएको छ । आइसोलेसनमा रहँदा त्यस्ता संक्रमितहरुलाइ स्वास्थ्यकर्मीको सहयोग आवश्यकता नपरेको पनि देखीएको छ ।
केही अनुसन्धानकर्ताहरुले सिटी भ्यालुको आधारमा मात्र यकिन अवस्था अनुमान गर्न नसकिने र कहिलेकाँही एउटै व्यक्तिको नमुना फरक फरक ठाउँबाट लिएर परिक्षण गर्दा सिटी भ्यालु फरक देखाउने पनि गर्छ । त्यसैले सिटी भ्यालुको विश्लेषण गर्दा चिकित्सकहरुको परामर्श लिनु राम्रो हुन्छ । संक्रमणको महामारी आक्रामक वा मत्थर हुँदै गइरहेको छ भनेर अनुमान गर्न सहयोगी हुनसक्ने भनिएको छ । जस्तै कुनै क्षेत्रका धेरै मानिसहरुको परिक्षण गर्दा सिटि भ्यालु कम देखीए त्यस क्षेत्रमा संक्रमण अझै फैलिँदै गएको भनेर अनुमान गर्न सकिन्छ । तर सिटि भ्यालु बढी देखीए त्यस क्षेत्रमा संक्रमण मत्थर हुँदै गइरहेको भनि बुझ्न सकिन्छ ।
माथिको अंश शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले सिन्धु यात्रा मासिकमा लेखेका छन ।